Tuesday, 31 March 2015

डा. के सी लाई समर्थन गरौं |


मैले एसएलसी २०५१ मा पास गरें, स्यांग्जा जिल्ला भरि एउटा पनि बिज्ञान पढ्नको लागि कलेज थिएन र काठमाडौँ तिर लागें। आज २० वर्ष भैसकेछ मैले एसएलसी पास गरेको, तर सरकारी स्कुलबाट राम्रो अंक ल्याएर पास गर्ने कुनै पनि बिद्दार्थी ११ कक्षामा बिज्ञान पढ्न स्यांग्जा जिल्ला भरि एउटा पनि सरकारी कलेज छैन। म  पनि आफ्नै पारिवारिक कारणले एक बर्सको ग्याप पछि मात्र मुम्बईम़ा बिज्ञान संकायमा पढ्न सुरु गरें। मैले १२ कक्षा (सन् १९९७) मा पास गर्दा धरानमा बिपी कोइराला मेडिकल इन्स्टिट्युट खोलिसकिएको थियो, र अहिले नाम याद भएन, अर्को १-२ ओटा प्राइभेट मेडिकल कलेजहरु स्थापना गरिने तरखरमा थियो। नेपाल भन्दा बाहिरबाट पनि मेडिकल पढ्न बिद्धार्थी आउने खबरले म उत्साहित थिएँ।

डा. गोबिन्द के सी. (picture source: online chautari)
दुखका साथ भन्नु पर्छ, सरकारी स्कुलमा राम्रो पढेर अगाडी बढेका साथीहरु चाहेर पनि आजसम्म डाक्टर बनेर निस्केकेको अपबाद बाहेक मैले सुन्न पाएको छैन।प्राइभेट कलेजबाहेक गाउँका निम्नबर्गीय बिद्धार्थीहरुले डाक्टर बन्नका लागि २० वर्ष पहिला र अहिलेको बाताबरणमा खासै भिन्नता आएको मान्न सकिने ठाउँ छैन ।

सन् २००१ म बीएस्सी पास गरेर नेपाल फर्कने वा नफर्कने दोधारमा रहदै गर्दासम्म नेपालमा धेरै मेडिकल कलेज खोलिइसकेका थिए।मुम्बईमा पढ्दै गर्दा त्यहाका अस्पतालमा अत्यन्त राम्रा अनुसन्धान गरेको देखेको थिएँ, नेपालका केहि अस्पतालमा फलानो हस्पिटल एंड रिसर्च सेन्टर लेखेको बोर्ड टाँसेको देखेर केहि काम गर्न पाइने आशाले काठमाडौँका धेरै अस्पताल धाउँदा त्यहाँ केहि अनुसन्धान नभएको पाउँदा त्यतिखेर मात्र होइन, अझैसम्म पनि अचम्मित छु। बिना अनुसन्धान कसरि मेडिकल सिक्षा फस्टाउन सक्ला, त्यो बहसको अर्कै पाटो हुन सक्ला तर मेडिकल सिक्षा भनेको यथेस्ट प्राध्यापाक र भौतिक सुबिधा बिना औषधि को नाम घोकेर पढ्ने बिषय होइन, आफ्नो बिषय संग सम्बन्धित सिपका लागि बिरामी र उपकरण नभएका कलेजमा बिरामीहरुसंग सम्बन्धित राम्रा अनुसन्धान होलान भन्ने त धेरै टाढाको कुरो भयो ।

नेपाल फर्कने बित्तिकै पुरानो चिनजान को एक  परिवार संग कुरा भयो। उनका छोराले २-३ पटक मेडिकल प्रवेश परीक्षा दियिसकेका थिए। उनले पैसा तिरेर पढाउन नसक्ने तर प्रवेश परिक्षामा पैसा खुवाएर पढाउन सक्ने कुरा गरे।  मन्त्रालयबाट नाम निकाल्न उनले धेरै मान्छेहरुसंग कुरा गरेको हुनु पर्छ, छोराको नाम निस्किन बित्तिकै धेरै मान्छेहरु पैसा माग्न थाले। पटकपटक धेरै मान्छेहरु पैसा माग्न आउन थालेपछि छोराले आफै नाम निकालेको कुरा गर्थे। मेडिकल प्रवेश परिक्षामा एउटा गिरोह थियो वा धेरै गिरोह सक्रिय थियो, त्यो त थाहा भएन तर प्रवेश परीक्षाको अनियमिताको बारेमा प्रदाफास भैसकेको अबस्थामा यसको थप पुस्टिको आबश्यकता परेन ।

मेरो लागि एउटा एउटा मात्र विकल्प भनेको प्राइभेट बोर्डिंग स्कुलमा पढाउनु थियो। मैले सन् २००१ बाट २००५ सम्ममा काठमाडौँका राम्रा गनिएका केहि स्कुलमा बिज्ञान बिषय पढाउदै गर्दा माओबादीको चर्को आन्दोलन थियो।प्राइभेट स्कुलहरु बन्द गर्ने सम्बन्धमा म त्यसको बिरोधि थिए, कमसे कम म जस्ता हजारौं युवाले काम गर्ने थलो त थियो त्यो।  प्राइभेट स्कुलमा हुने बिकृति आफ्नो ठाउमा थिए, त्यै पनि तुलनात्मक रुमपा मैले पढाउने स्कुलहरुमा दियिएको शिक्षाको स्तर र त्यहाका अधिकांस बिधार्थी देख्दा मलाई खुसि लाग्थ्यो। त्यहाका कैयों जेहेन्दार बिधार्थीको सपना डा. बन्ने हुन्थ्यो, ति मध्ये कैयौंले ग्रामिण क्षेत्रमा गएर सेवा गर्ने लक्ष राख्थे । 

तर दुर्भाग्य भन्नु पर्छ, मैले ४-५ वर्ष काठमाडौँका प्रतिष्ठित स्कुलमा अध्यापन गर्दा भेटिएका आफुले गर्ब गर्न लायक पढाईमा अब्बल मानिने एक-दुइ अपबाद बाहेक अन्य अधिकांस बिद्धार्थीहरु अहिले विदेश छन्। उनीहरुले नेपालमा मेडिकल प्रवेश परीक्षा दिए, तर सरकारी कोटामा थोरै सिट थियो, पढ्न पाएनन्, प्राइभेटमा पैसा पेल्न सकेनन र बिदेसिन बाध्य भए। उनीहरु अहिले विदेशमा बिज्ञान लगाएत अन्य बिषय लिएर अध्ययन गर्दैछन ।

सन् २००५ देखि २००६ सम्ममा मैले काठमाडौँको एक कलेजमा स्नातक तहको बायोटेक्नोलोजी कोर्सको संयोजक भएर काम गरें। त्यहाँ पढ्न आउने अधिकांस बिधार्थी एसएलसीमा बिसिस्ट श्रेणीमा पास हुनुका साथै ११ र १२ कक्षामा अत्यन्त राम्रो रिजल्ट भएका थिए। अधिकांसले कैयौं पटक मेडिकल प्रबेस परीक्षा दिएर थाकेर आएका थिए। ति मध्ये केहि प्राइभेट मेडिकल कलेजमा छुट्टाइएको सरकारी कोटामा भएको अनियमितताका भुक्तभोगी थिए। उनीहरुले भनेको बिश्वास गर्ने हो भने आफ्नो जग्गा बेचेर भएपनि शुल्क तिरेर पढ्ने मनशाय बनाएर अलिकति शुल्क घटाउन भनसुन गर्न नेताहरु कहाँ जादा शुल्क घटाउन मिल्दैन, दस लाख लिएर आउ, मन्त्रालयबाट हुने प्रवेश परीक्षाम़ा सरकारी कोटाम़ा नाम निकल्दिन्छु भन्ने पार्टीका नेता अहिले सभासद छन्। दस लाख लिएर जाँदा अझ बढी मागेपछि मेडिकल पढ्ने सोच त्यागेका एक बिधार्थी अहिले बेलायतको प्रतिष्ठित कम्पनिमा काम गर्छन। यो त एक प्रतिनिधि घटना थियो। अधिकांस बिधार्थीको व्यथा मिल्दोजुल्दो थियो, प्रत्यकका कुरा यहाँ लेखि राख्न सम्भव पनि भएन । 

२००६ देखि २००९ सम्म काठमाडौँको अर्को प्रतिष्ठित कलेजमा प्लस टु को बिज्ञान संकाय प्रमुख भएर काम गरें। हामी हाम्रो नयाँ पुस्तालाई देखेर अचम्म मान्थ्यौं। कैयौं बिधार्थी पढाईमा त अब्बल थिए नै, अतिरिक्त क्रियाकलाप देखि अन्य धेरै विधामा अब्बल थिए। उनीहरुको क्षमता देखादा लाग्थ्यो, देश हाम्रो देशको भविष्य उज्जल छ, ति मध्ये अधिकांसले मेडिकल प्रवेश परीक्षा दिए तर नाम निकालेनन। हामीले देशको मुहार देखेका जेहेन्दार, गर्ब गर्ने  बिद्धार्थीहरु प्राय: सबै अहिले विदेश छन्। आफैलाई बिश्वास गर्न गार्हो हुन्छ, हामीले राम्रा भनेका अब्बल बिद्धार्थीहरु प्लस टु पास गरेको १ वर्ष भित्रैमा अमेरिका पुग्थे, बाँकि अर्को वर्ष। सरकारी कोटामा १-२ ले नाम निकाल्नु अर्कै भो, बाकींहरु बिदेसिने है हुन्, तर मेडिकल पढ्न होइन, छात्रवृति वा आफै का गर्दै पढ्ने बाताबरण मिलाएर जाने हुन्। 

मैले पढाएका दर्जनौं बिद्दार्थीहरु आज मेडिकल डाक्टर बनिसकेका छन् वा मेडिकल पढ्दै छन् तर तिनीहरु मध्ये कति पढाईमा औसत थिए, वा औसत भन्दा पनि कम थिए। हामीले वर्ष भरि राम्ररी पढ्न नसकेर निरन्तर ताकेता गरेका कमजोर बिधार्थीहरु पनि मेडिकल कलेजमा पैसा तिरेर भर्ना भए। मैले उनीहरुको अपमान गर्न खोजेको होइन, तर भन्न खोजेको कुरो के भने नेपालको मेडिकल सिक्षा जेहेन्दार बिधार्थिले आफ्नो क्षमताको आधारमा होइन, पैसाको आधारमा पढ्ने हो भन्ने कुराको अन्य प्रमाण दिई राख्नु पर्ला जस्तो लाग्दैन। 

डा. केसीले राखेको माग नेपालको स्वास्थ्य क्षेत्रलाई धराशायी हुन बाट बचाउन र तीन करोड नेपालीको स्वास्थ्यम़ा भैरेहेको चरम लापरबाही र भ्रस्टाचारलाई निर्मुल पर्न वा कम गर्न अत्याबश्यक एकदम आधारभूत मागहरु मात्र हुन् । हाम्रो स्वास्थ्य क्षेत्रमा भएमा सयौं विसंगति र कुसंक्रितिलाई हामीले अझै पहिल्याउदै हटाउदै जाने हो। उहाको मागहरु त सुरुवात हो। हाम्रो स्वास्थ्य क्षेत्र बर्बाद भैसकेको कुरा हामीलाई थाहा छ। त्यसैले उहाँको मागहरु प्रति समर्थन जनाउने मात्र होइन, उहाँलाई साथ दिएर उहाँको सम्पूर्ण मागहरु  पुरा गर्न हामी सबै लाग्नुको विकल्प छैन।